इन्भेष्टमेन्ट र हिमालय बैंकबीच मर्जर सम्झौता,बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा मर्जरमा जानका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरसँगै बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि।’ हुनेछ । यसैगरी संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुनेछन् । यस्तै स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्य अनुरुप बिग मर्जरको अवधारण अघि सारेको थियो । सोही अनुरुप यसअघि ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा मर्जर भईसकेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै एक आपसमा मर्जर हूँदा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेको छ । यी दुबै बैंक मर्जर पश्चात चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *