कमिसन लोभका कारण खोप ल्याउन अवरोध गर्ने भूतप्रेत को को हुन् ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित गर्दै भनेका थिए, ‘यसबीच केही भूतप्रेत जागृत भए।’ यी भूतप्रेत को हुन्, मन्त्री त्रिपाठीले त्यति बेला नखुलाए पनि अहिले आएर खुलासा भएको छ। ती भूतप्रेत अरु कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गर्दै आएका व्यापारी र कमिसन एजेन्टहरू हुन्।
नेपालले सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसमा १० प्रतिशत कमिसन माग गर्दै खोप भित्रिन नदिइएको हो।
मन्त्री त्रिपाठीले त्यो बेला नै यी शक्तिशाली व्यक्तिहरूका कारण खोप आयातमा अवरोध भएको संकेत गरेका थिए। सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिंह बैद्यले सरकारले खरिद गरिसकेको र भविष्यमा खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन माग गर्दै आएको खुलेको छ।
सरकारले निजी क्षेत्रलाई खोप खरिद गर्न बाटो खुलाउँदै १० प्रतिशत कमिसन लिन पाउने व्यवस्था गरिसकेको छ। सरकार आफूले फ्याक्ट्रीबाट खरिद गरेको खोपमा कमिसन दिन तयार नभएपछि देशभित्रै र बाहिरका विभिन्न माध्यमसमेत प्रयोग गरी खोप आयातमा अवरोध गरिएको हो।