एयर लिफ्टिङ गरेर भएपनि अक्सिजन सिलिन्डर ल्याउन सरकारसँग माग
काठमाडौं । कोरोनाका सङ्क्रमित बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव व्यापक रूपमा देखिन थालेको छ । सिलिन्डरको कमीले अक्सिजन आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादकहरूले सरकारसँग राखेको माग पनि सम्बोधन भैसकेको छ। तर पनि अक्सिजनको अभाव नटर्ने स्थिति देखिंदैछ।
सिलिन्डर आयातमा कर छुटको माग अक्सिजन उत्पादकहरूको थियो जसलाई सरकारले क्याबिनेट निर्णय मार्फत नै पुरा गरिसकेको छ। तथापि तुरुन्तै आवश्यक सिलिन्डर भित्राउन नसकिने उनीहरूले बताएका छन्। अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेको छ। तत्काल आवश्यक सिलिन्डर समयमै आयात गर्न समेत सरकारले सहजीकरणको व्यवस्था मिलाउनु पर्ने अक्सिजन उत्पादन संघका अध्यक्ष गौरव सारडा बताउँछन्। उनले भने, “भारतबाट सिलिन्डर ल्याउने अवस्था छैन, हामीले चीनबाट नेपाल ल्याउन ४५ देखि ६० दिन लाग्छ । सरकारले एयर लिफ्टिङ मार्फत ल्याइदिनु पर्यो वा अरू केही व्यवस्था मिलाउनु पर्यो ।”
सरकारले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेपनी हालको अवस्थामा व्यापारीले आयात गरेर आपूर्ति सहज गर्न असम्भव रहेको उनको ठहर छ।
उनी थप्छन्, ुव्यापारीले पुरानै प्रक्रियाबाट सिलिन्डर ल्याएर अहिलेको अभाव कम गर्ने भन्ने सम्भावना नै छैन।ु सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेको थियो ।
अक्सिजनको अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान सक्ने त्रास बढिरहेको बेला अक्सिजन उत्पादकहरूले भने त्यस्तो अवस्था आएमा अस्पतालहरूलाई नै दोषी करार गरिनु पर्ने बताएका छन् । कतिपय अस्पतालहरूले आफै अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट राख्ने कुरा गरेर उद्योगीलाई झुक्काएको उनीहरूको आरोप छ ।