मध्य भोटेकोशी जलविद्युतले बैशाख २१ गतेदेखि आईपिओ निष्काशन गर्ने
मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यस निष्काशनमा सिन्धुपाल्चोकवासी सबैले आवेदन दिन सक्ने छन् । कम्पनीले ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) , बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६, ७, र ८ (साविकको गाती, घुम्थाग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता शेयर छुट्याईएको छ ।
यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ।
काठमाडौँमा रहेका सिन्धुपाल्चोकवासीलाई काठमाडौँबाट समेत आवेदन दिन सक्ने ब्यबस्था कम्पनीले गरेको छ । आईपिओ निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक र नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ ।