गण्डकीको कम्पन लुम्बिनी प्रदेशमा ,मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट प्रस्ताव दर्ता गराइएको हो । प्रस्तावमा ४१ जना सांसदको हस्ताक्षर भएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले जानकारी दिए ।अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन् । नयाँ सरकार बनाउन बहुमतको लागि ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।
सबैभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । यीमध्ये नेकपा एमालेको माधव नेपाल समूहका कति सांसद छन् भन्ने प्रस्ट छैन ।