राजमार्गको छेउमै कोइला भण्डारण डिपोले वातावरण धुलाम्य, यात्रीलाई सास्ती
वीरगंज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ। गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धुलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्।
ड्राइपोर्ट-परवानीपुर सडकखण्ड, परवानीपुर-जीतपुर सडकखण्ड, गण्डक-परवानीपुर सडकखण्डमा करिब एक दर्जन कोइला भण्डारण गर्ने फर्म सञ्चालनमा छन्। भारत तथा विदेशबाट खरिद गरी यस क्षेत्रको कोइला डिपोमा भण्डारण गर्ने र वीरगंज कोरिडोर तथा देशका विभिन्न क्षेत्रमा रहेका सिमेन्ट उद्योगलाई उक्त कोइला बेच्ने गरिन्छ।
कोइलाको धुलोले आँखा तथा स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै श्वासप्रश्वास तथा क्यान्सर रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन्। परवानीपुरस्थित मुर्तामाई नजिकै अश्विनी गुप्ताले सञ्चालन गरेको मुर्तामाई कोइला डिपोले परवानीपुर प्रहरी चौकी आसपासका पसले तथा यात्रीहरूलाई ठूलो समस्या उत्पन्न गराएको यस भेगका स्थानीय बताउँछन्।