सुरक्षितरूपमा नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।
सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले अनिवार्य रूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षित रूपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।
सभापति देउवाले आमनेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन् ।