नेपाल र भारतका परराष्ट्रमन्त्री बीच टेलिफोन वार्ता,खोपको आपूर्तिबारे विमर्श
काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस. जयशंकरबीच आज भएको वार्तामा कोभिड-१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदान–प्रदान गर्न सहमति भएको छ ।दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचार-विमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे । साथै, उनले कोभिडको उच्च जोखिममा परेको नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेको उक्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।