अम्बाका दुई पात उमाल्दिउँ, बेसरी गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट!
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन् ।
उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भएर सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए ।
“अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं । पहिले गएर नाकमा बस्ने हो, कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गार्गल गरिदिउँ, घाँटीमा बसेको चट ! स्टिम लिइदिउँ फोक्सोबाट चट ! त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।