संसदीय समितिमा नेकपाको प्रतिनिधित्व रहेकोमा एमालेको आपत्ति
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणलाई बदर गरिसक्दा समेत संघीय संसदका संसदीय समितिमा नेकपाको प्रतिनिधित्व रहेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
बिहीवारको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सांसद खगराज अधिकारीले संसदीय समितिमा हेरफेर गर्न माग गरे ।बदर भइसकेको नेकपाको प्रतिनिधित्व संसदीय समितिमा रहेको बताउँदै सांसद अधिकारीले दलको हैसियत अनुसार समितिमा हेरफेर हुनुपर्ने माग गरे । अवैध तरिकाले नेकपाको नाममा समितिमा प्रतिनिधित्व गर्न नसकिने सांसद अधिकारीले बैठकमा जानकारी दिए ।
सांसद अधिकारीले सबै दलले नाम दिएपछि समितिमा हेरफेर गरिने जानकारी दिएका छन् ।