महासंघ र प्रदेशले, कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच शुक्रबार महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउनु हुँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए ।
लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासङ्घले सहजीकरण गर्ने पनि जानकारी गराए । छलफलमा महाङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो ।
कर्णाली योजना आयोगका उपाध्यक्ष डा खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए ।