दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सर्वोच्च अदालतको फैसलापछि दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता रहेकाले त्यसमा सरकारले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दलहरूको बीचमा नयाँ ढंगको समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहने र रचनात्मक भूमिका खेल्ने बताएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतले हामीलाई पाँच वर्षको कार्यकाल सामान्यत खण्डित हुँदैन । तिमीले राजनीतिक स्थिरता त्यहीँ भित्रबाट खोज भनेर आदेश दिएको सन्दर्भमा दलहरुको बीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘त्यो समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहन्छ ।
संसद विघटन र नेकपाको एकीकरण बदर गर्ने सर्वोच्च अदालतको दुवै फैसलालाई स्वीकार गर्दै सरकार कार्यान्वयनमा जाने उनले बताए । दुवै मुद्दामा सरकारले हारे पनि त्यसलाई स्वीकार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।