नेपाल पक्षीय भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई केपी शर्मा ओलीको निर्देशन
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले बुधवार र बिहीवार आयोजना गर्न लागेको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
भेलामा सहभागी भए पार्टीको विधान र दल सम्बन्धी कानूनअनुसार कारवाही हुने उनले चेतावनी दिए । ‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ ।
राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे, कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन,’ ओलीले भने, ‘अराजकता, अनुशासनहीनता जस्ता कुरा, एकता विरोधी कुरामा छुट हुने छैन । अचाक्ली भयो ।
’बुधवारका लागि आयोजना गरिएको भेला अवैधानिक भन्दै ओलीले सहभागी भए पार्टी विधान र दलीय कानून अनुसार कारवाही हुने चेतावनी दिए ।
‘पार्टीमा हामी सबैले एकताबद्ध भएर काम गर्नुपर्छ । अनुशासनहीन भयो भने पार्टीको विधान छ, कानून छ, संसद नियमावली छ । दल सम्बन्धी कानून छ, यी सबै कुरामा ध्यानाकर्षण गराउँछु,’ ओलीले भने, ‘हामीले खोजेको एनार्किज्म होइन, सुसभ्य समाज स्थापनाका लागि अनुशासित पार्टी चाहिन्छ ।
भोलि भेला आह्वान गरेको छ, एमाले नेता सम्बद्ध कुनै गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई सजग र सचेत गराउन चाहन्छु ।’