पार्टी भनेको कुनै माछा बजार होइन, मन लाग्यो आयो मन लाग्यो गयो : केपी शर्मा ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो ।
पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसार आउन पनि आग्रह गरे ।
उनले आफूले पार्टीका कसैलाई पक्षपात नगरेको दावी गर्दै बरु आफूलाई नेकपा रहँदाका अवस्थामा अध्यक्षदेखि साधारण सदस्यसमेत नरहने गरी निकाल्ने एकपक्षीय घोषणा गरेको भन्दै आक्रोश पोखे ।
उनले माधव नेपाल समूहको उपद्रो देखेर कार्यकर्ता तहमा उनीहरुलाई कारबाही गर्नुपर्ने आवाज उठेको भन्दै तर आफू अझैपनि नेपाल समूहले गल्ती स्वीकार्नुपर्छ भन्नेमा रहेको बताए ।