जसपाको प्याकेजमा रेशम चौधरी रिहाको बटमलाईन, के होला डिल ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारसँग सहकार्यका लागि प्याकेज डिल नै खोजेको छ । सरकार र जसपाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
करिब डेढ घण्टा भएको छलफलमा जसपाले जेलमा रहेका टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकतालगायत विषयमा एकमुष्ठ समझदारी खोजेको हो । संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, राजन भट्टराई थिए । जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्ण थिए ।
“सत्ता साझेदारीका लागि हाम्रो पहिलो सर्त रेशम चौधरीलगायत जेलमा रहेकाहरू रिहाइ, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन नागरिकतालगायत विषय छन्,” जसपा नेता लक्ष्मणलाल कर्णले भने, “सरकारसँग यिनै विषयमा कुराकानी भएको छ । रेशम चौधरी रिहाइका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुहुन्छ ।”
यस विषयमा भोलि पनि कार्यदल स्तरमा कुराकानी हुने कर्ण बताउँछन् ।