पुशपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल र उत्सव
काठमाडौँ। पुशपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल बढेको छ ।
बिहीबारको महाशिवरात्रीलाई लक्षित गरि साधुसन्त आउने क्रम शुरू भएको हो ।राष्ट्रपतिले महाशिवरात्रिको सङ्कल्प गरेसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए ।
थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिएको छ ।
मङ्गलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको सङ्कल्प गरेकी थिइन् ।