टी-ट्वान्टी क्रिकेट सिरिजका लागि आजबाट बन्द प्रशिक्षण
काठमाडौं,। कतारविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि आजबाट प्रशिक्षण गर्न लागेको हो । कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले बोलाएको टिममा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् । तर, क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् ।यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् । नेपाल र कतारबीचको बाइल्याट्रल टी -ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।