लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनु पर्ने अवस्था छ : रामचन्द्र पौडेल
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले १०४ वर्षे राणा शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनपर्ने अवस्थामा रहेको बताएका छन्। शुक्रवार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
पौडेलले सहिदले देखाएको बाटोमा हिँड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेको बताए। १०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदासमेत शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन सकेको छैन, पौडेलले थप भनेका छन्, यिनै महान शहिदहरूको बलिदानले मार्गदर्शन गरेको बाटोमा आज पनि हिड्न पर्ने भएको छ। सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको छ।