कोरोनाकालमा पनि प्रभु बैंकको व्यवसाय विस्तारमा सुधार
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले कोरोना समयमा पनि व्यवसाय विस्तार गर्दै आफ्नो नाफामा ३९.८७ प्रतिशतले सुधार गरेको छ ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आवको पहिलो ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको छ । तर बैकले गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । सो अबधिमा बैंकले नियामकिय निकायको व्यवस्था पछि ९९ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ९.७२ प्रतिशतले बढाएको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ । कुल ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ ।