चेल्सीलाई हराउँदै लेस्टर सिटी शीर्षमा
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टरले चेल्सीलाई २-० ले हराएको हो ।
लेस्टरको जीतमा विलफ्रेड एनडिडी र जेम्स म्याडिसनले १-१ गोल गरेका थिए । चेल्सीविरुद्ध लेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
पहिलो हाफको छैटौं मिनेटमा हार्वे बार्नसको पासमा एनडिडीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा मार्क अलब्राइटनको पासमा म्याडिसनले गोल गरेपछि लेस्टरको अग्रता दोब्बर भएको थियो ।
यस जीतसँगै लेस्टर सिटी १९ खेलबाट ३८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।