विरोध कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन तरुण दलको निर्देशन
काठमाडौं। नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनविरुद्ध माउ संस्था नेपाली काँग्रेसले तय गरेको विरोध प्रदर्शनमा सक्रिय सहभागी गराउन सबै जिल्ला समितिहरुलाई परिपत्र गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन निर्देश गरेको हो।
नेपाल कम्यूनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरु गर्ने भएकोले उक्त विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्नरगराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ, अध्यक्ष बस्नेतले जारी गरेको परिपत्रमा भनिएको छ।