संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो।
पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो। जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो।
विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया सुरु हुने बताए।
आयोग गठन भएपछि कस्ता पदाधिकारी आउँछन् उनीहरुले गर्ने कामका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगिनेतिर अग्रसर हुने बताए। संक्रमणकालीन न्यायलाई यही रुपमा सम्बोधन गरिनुपर्ने र यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताए।
राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र युद्धबाट नेपालमा राजनीतिक परिवर्तन र उपलब्धी हासिल भएको बताए।
राजनतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्नु नै नेपालको वर्तमानको केन्द्रीय कार्यभार भएको बताए। यसका लागि समेत शान्ति प्रक्रियाको विषय टुंगिनु आवश्यक रहेको र सकारात्मक दिशामा अगाडि बढेको बताए।