बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैन


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे)सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताए ।

सरकारमा भएर पनि काँग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार सय दिनको कटाउन मुस्किल रहेको बताउन थालेको दाबी उनको थियो । आफूहरूको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । 

‘काँग्रेस–एमालेकै नेताहरुले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् ।

संसदमा र बाहिर पनि एमाले–काँग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्’, पुनले भने, ‘किन भने संसदको अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन् । सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन । चाह्यौं भने हामी छिट्टै सरकारमा जान सक्छौं । अहिलेको गणित कसैले बदल्न सक्दैन ।’ 

 उनले नयाँ सरकार बनेपछि काँग्रेस–एमालेमा आन्तरिक किचलो बढेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *