खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताए ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताए ।
उनले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौँको सुवर्ण शमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकारे ।
उनले १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि दुई सय ५३ खेलाडीहरूको स्वदेश र विदेशमा प्रशिक्षण सम्पन्न भएको जानकारी दिए । उनले खेलसम्बन्धी कानुन र राष्ट्रिय युवा नीति संशोधनका लागि गृहकार्य भइरहेको बताए ।बैठकमा सांसदहरुले खेल पूर्वाधारहरू एकै पटक धेरैतिर निर्माण गर्न सम्भव नभए छनोटका आधारमा उपयोगी र कम खर्चका संरचना बनाउन, खेल प्रतिभाको खोजी र संरक्षण गर्न, विदेशमा हुने प्रतियोगीतामा खेलाडीभन्दा अन्य व्यक्तिको भीड नपठाउन, खेल क्षेत्रलाई अनुशासित र भ्रष्टाचाररहित तुल्याउन आग्रह गरेका थिए ।