देशले कांग्रेसलाई आफैँ सत्तामा पुर्याउँछ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको दाबी गरेका छन् । मंगलबार राजधानी काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशले कांग्रेसलाई आफैँ सत्तामा पुर्याउने उल्लेख गरे ।
“कांग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ कांग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्याउँछ । अहिलेको यो गठबन्धन चिरन्जिवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने ।
नेता पौडेलले कांग्रेस सरकारमा गए जनताको के के काम गर्ने भनेर ‘ब्लु प्रिन्ट’ तयार गर्न लागि पर्नुपर्ने धारणा राखे । काठमाडौं क्षेत्र नम्बर ५ का सांसद समेत रहेका उनले देशमा सत्ता केन्द्रित राजनीति मौलाएको र नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको उल्लेख गरे । नयाँ भनिएका दलहरूलाई पनि सत्ता र कुसी चाहिने र सबै खाले बेइमानी गरेर सत्तामा जान खोजेको बताए । “लोकतन्त्रमाथि जुन खतरा देखिएको छ यसलाई अन्त्य गर्न कांग्रेस फरक ढंगबाट एकीकृत हुन आवश्यक छ किनभने नयाँ पुराना सबैलाई कुर्सी चाहिएको छ,” उनले भने ।
अहिले सामाजिक सञ्जालमार्फत गलत प्रचार गरेर तथा भ्रम छरेर नयाँ दलहरू जनता तर्साउन लागेको भन्दै उनले थपे, “निरंकुश शासकले बन्दुक तर्साएर डर देखाउन खोज्द्थ्यो आज सामाजिक सञ्जालमा गलत ढंगबाट प्रचार गरेर डराउन खोजिएको छ । यसविरूद्ध लड्न हामी तयार छौँ ।”


