मिटरब्याज समस्यामा फेरि नयाँ आयोग


मिटरब्याज समस्या चर्किंदै जाँदा सरकारले फेरि नयाँ आयोग गठन गरेको छ। बिहीबार (हिजो) बसेको मन्त्रिपरिषद्‌ बैठकमार्फत सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की अध्यक्षता तीन सदस्यीय आयोग गठन गरेको हो।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी आयोग गठन गरिएको सरकारी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्‍चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्‌।

नवगठित आयोगमा पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन्‌। नयाँ आयोगलाई जाँचबुझ आयोग भनिएको छ। आयोगले मिटरब्याज समस्या समाधान निम्ति सरकारलाई सुझावसहितको प्रतिवेदन दिने मन्त्री शर्माले बताएकी छिन्‌।

सरकारले यसअघि पनि मिटरब्याज समस्या समाधान गर्नकै लागि भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। सो आयोगले देशभर ५ हजारभन्दा बढी लेनदेन टुङ्ग्याएको थियो।

पछिल्लोपटक मिटरब्याज पीडितहरू २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आएपछि सरकारले केही दिन अघि नयाँ आयोग गठन गर्ने सहमति जनाएको थियो। सीही सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तावमा नयाँ आयोग गठन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *