अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ मन्त्री :अर्याल
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । “हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ, त्यसको लेखाजोखा गर्नुस”, मन्त्री अर्यालले भनिन्, “अनुदानका कार्यक्रमलाई पुनः विचार गरौँ, यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।”
अनुगमन नतिजालाई हेरेर काम अगाडी बढाउदै भोली कसैले प्रश्न गर्न नसक्ने गरी अनुगमन गर्न उहाँले कर्मचारीलाई निर्देशन दिइन् । उनले भनिन्, “विकृति नआउनेगरी काम गर्नुहोला, स्वस्थ अनुगमन प्रणाली विकास गर्नुस्, वार्षिक कार्यक्रममा केन्द्रित हुदै तथ्यमा आधारित भएर काम गर्नुस् ।”
मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको र मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भए पनि काम देखिने गरी अगाडि बढ्नुपर्ने बताए ।
पशुपक्षी सचिव डा प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने र केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएकाले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताए ।रासस