अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरूलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको उनको भनाइ थियो ।
लिङ्देनले पछिल्लो समय राजनीतिक दलहरूलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए । टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजस्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेकोप्रति गुनासो गरे ।
उनले भने, “टेरामक्स भन्ने एउटा प्रविधि हो । कतिलाई त थाहा पनि छैन । अलि सस्तोमा आउनुपर्ने चिज अलि बढीमा तोकेर ल्यायो वा राम्रो ल्याउनुपर्ने कमसल ल्यायो होला, त्यसलाई त तुरुन्तै कारबाही गर्नुपर्यो । त्यो प्रविधि त चाहियो नि । टेरामक्स भित्र्याउने क्रममा भएको भ्रष्टाचारको कुरा मात्रै होइन नि । त्यो प्रविधि नभएको कारणले झन्डै एक खर्ब राजस्व हिनामिना भएको भन्ने अनुमान छ । गुणस्तरीय सेवा हामीले पाएका छौँ की छैनौँ भन्ने थाहा छैन । एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनीहरूको आम्दानी घटेको देखाइएको छ, तर खासमा घटेको हो की होइन, भन्नेकुरा नाप्ने र हेर्ने कुनै निकाय छैन ।