फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ। आज राती १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गअन्तरगत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी मा १६९ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।
त्यस्तै डिजेल र मट्टीतेल १५७ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल १६० रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ। अहिले देशभर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ भएको छ।