राजस्व लक्ष्य भेट्टाउनै मुस्किल, लक्ष्यभन्दा २०% कम संकलन


चालु खर्च धान्न नसक्ने गरी कमजोर बनेको सरकार चालु आर्थिक वर्षको सातौँ महिना पुरा हुँदा समेत राजश्व संकलनको लक्ष्यमा निकै पछि रहेको छ । आन्तरिक राजस्व विभागले उठाएको राजस्वको विवरण हेर्दा चालु आवको सात महिनाको राजस्व संकलनको यस्तो अवस्था  देखिएको हो।

विभागले यस अवधिमा लक्ष्यको २० प्रतिशत कमराजस्व संकलन गरेको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्ममा २ खर्ब ७९ अर्ब ४९ लाख ३४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि सरकारले यस अवधिमा ३ खर्ब ४७ अर्ब ४३ करोड ५९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा लक्ष्यको ८०.३० प्रतिशत मात्र राजस्व संकलन भएको हो ।

विभागले यस अवधिमा आयकरबाट १ खर्ब २६ अर्ब ९८ करोड ४८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८९.३० प्रतिशत हो । यस अवधिमा १ खर्ब ४२ अर्ब १९ करोड ५३ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य थियो ।

त्यस्तै, विभागले घर बहाल करबाट १ अर्ब ३७ करोड २३ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसका साथै सो अवधिमा ब्याजबाट २५ अर्ब ७३ करोड ३८ लाख ७१ हजार रुपैयाँ, भ्याटबाट ६५ अर्ब ३८ करोड ९६ लाख २३ हजार राजस्व संकलन भएको छ ।

त्यसैगरि, अन्तःशुल्क शीर्षकबाट यस अवधिमा विभागले ५३ अर्ब ७९ करोड ८२ लाख ३ हजार रुपैयाँ, स्वास्थ्य सेवा शीर्षकमा ३ अर्ब ८४ करोड ५० लाख ३० हजार रुपैयाँ र शिक्षा शीर्षकमा १ अर्ब ८८ करोड १० लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *