१ लाख ६० हजार व्यापारिक प्रतिष्ठान दर्ता नै नगरी सञ्चालन
देशभर सञ्चालितमध्ये झण्डै ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानको दर्ता नै नभएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण, २०७८’ मा बिना दर्ता सञ्चालन रहेका व्यवसायिक प्रतिष्ठान झण्डै एक तिहाइ रहेको उल्लेख छ ।
थोक तथा खुद्रा व्यापार गर्नेमध्ये करिब १ लाख ६० हजार व्यापारिक प्रतिष्ठान बिना दर्ता सञ्चालन भइरहेको पाइएको हो । देशभर कूल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान छन् । ६८ प्रतिशत प्रतिष्ठान भने कुनै न कुनै सरकारी निकायमा दर्ता रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
देशभरका व्यापारिक प्रतिष्ठानमा कूल ११ लाख ३० हजार ६४५ जना संलग्न रहेका तीमध्ये ४ लाख ३ हजार ९६४ महिला रहेको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक १०० प्रतिष्ठानमा औसत १४६ पुरुष र ८१ महिलाले रोजगारी पाएको देखिएको छ । एउटा प्रतिष्ठानमा औसत दुई कामदार कार्यरत छन् ।
तर, थोक तथा खुद्रा व्यापारको क्षेत्रमा संलग्नमध्ये ६०.६० प्रतिशत पुरुष र २०.५० प्रतिशत महिलाले मात्रै तलबज्याला र अन्य सुविधा पाएको प्रतिवेदनमा उल्लेख छ । यो तथ्यांक विश्लेषण गर्दा पारिवारिक लगानीको व्यवसायमा तलब सुविधा नलिइ काम गर्नेहरूको संख्या अधिक देखिन्छ ।