राजस्व बढाउनेतिर ध्यान दिन कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. महतले भने, ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’

मन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नु हुँदै मन्त्री डा. महतले भने, ‘हिजो जे–जे  थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ ।’

आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ । अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको  सिस्टममा जोड्नुपर्छ ।’

मन्त्री डा. महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन । जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *