सत्तारुढ गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन्। अध्यक्ष ओलीले सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप थियो। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरु कुनै राजनीति नगरेको जिकिर गरे। देशका निम्ति केही गर्नेभन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताए। उनले सरकारले दिगो विकास लक्ष्य विपरीत रेमिटयान्सको भर परेर देश चलाउने सोच लिइरहेकोसमेत बताए।
ओलीले सरकारले जाजरकोटलगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको दोहोर्याए।