नाइजेरियामा अन्तरसाम्प्रदायिक झडपमा ५५ को मृत्यु


समुदायका नेताहरू र रेडक्रसको बिहीबारको रिपोर्टअनुसार नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा नयाँ हिंसा भएको एकै दिनमा ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठालाहरू र ईसाई कृषक समुदायबीच झडप सुरु भएको हो ।

समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइयो र लुटपाट गरियो ।

अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ । “अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छाडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै गर्न सक्छन्”, सङ्घले भनेको छ ।

मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ । मुस्लिम समुदायको सङ्गठन जमाअतु नसरिल इस्लाम (जेएनआई) को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ जना मारिएको सूचना दिएका छन् । “हाम्रा धेरै मानिस मारिएका छन्, हामीले २५ शव फेला पारेका छौँ, शवहरू यहाँ मस्जिदमा हामीसँग छन्”, उनले भने ।

पठार राज्यका जेएनआई सचिव सलिम मुसाले पनि भने, “अहिलेसम्म २५ मुसलमान मारिएको पुष्टि भएको छ ।” नाइजेरियाली रेडक्रसको रिपोर्टमा आक्रमणमा कूल ५५ को मृत्यु र एक सयभन्दा धेरै घाइते भएको उल्लेख छ । प्रहरी र सेनाले हालै भएका झडपहरूमा भएको मृत्युको पुष्टिका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएका छैनन् ।

नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले विस्थापितहरूका लागि मङ्गू सहरमा करिब एक हजार पाँच सय मानिसका लागि दुई वटा शिविर स्थापना गरिएको जानकारी दिए ।

पठारका गभर्नरले थप अर्को झडपपछि मङ्गलबार कर्फ्यु घोषणा गरेका थिए। अधिकारीहरूले आफ्ना गाईवस्तु लैजाने एक गोठाला र सडक प्रयोग गर्ने बासिन्दाहरूबीचको विवादका कारण झडप भएको बताएका छन् ।

नाइजेरियाका अधिकांश मुस्लिम उत्तर र मुख्यरूपमा ईसाईहरू दक्षिणको बीच विभाजन रेखामा रहेको पठार अन्तरसाम्प्रदायिक हिंसाको केन्द्र हो । यद्यपि क्रिसमसका क्रममा अधिकांश ईसाई गाउँहरूमा भएको आक्रमणमा करिब दुई सय मानिसको मृत्यु भएपछि तनाव बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *