‘झोलामा खोला’ बनेका १५ जलविद्युत आयोजनाको पीपीए रद्द
‘झोलामा खोला’ बनेका १५ जलविद्युत आयोजनालाई नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) प्रकृयाबाट अलग गरेको छ । पीपीएका लागि निवेदन नै नदिएका र आवश्यक कागजात संलग्न नगरेका १५ आयोजनालाई पीपीए रोलक्रमबाट हटाइएको प्राधिकरणले जानकारी दिएको हो ।
नदीप्रवाही (रन अफ रिभर-आरओआर) प्रकृतिका यी आयोजनाबाट २१५ मेगावाट विद्युत उत्पादन प्रस्ताव गरिएको थियो । प्राधिकरणले यस्ता नदीप्रवाही आयोजनाको अधिकतम सीमा ६ हजार ७५० मेगावाट नपुगेसम्म ग्रीड कनेक्सन रोलक्रम आधारमा पीपीए गर्ने जनाएको थियो ।
पीपीए प्रकृया अघि बढ्न नसकेका आयोजनालाई समेत सम्पर्कमा ल्याएर पीपीए गराउन प्राधिकरणले गत असोज १६ गते ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिनभित्र सम्पर्कमा आउन भने पनि १५ आयोजना सम्पर्कमै नआएको या आवश्यक कागजात पूरा गर्न असफल भएको प्राधिकरणले जनाएको छ ।
अपर त्रिशूली २, चमेलिया, गर्च्याङखोला, लोअर तारा, मध्यसुनकोशी, ल्याङ्दी खोला, ताडी खोला, ढाड खोला लगायत १५ परियोजना पीपीए रोलक्रमबाट हटेका छन् ।