सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताए ।
सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उनले बताए । उनले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राखे।
सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सके मात्र आर्थिक विकासको ढोका खुल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।