बालकुमारी घटनामा २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन
२ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सभापति रामहरि खतिवडाले समितिको निर्णय जानकारी गराएका हुन्।
समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई नेपाली नागरिकको मृत्यु भएकोमा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ।समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ।