कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शुक्रबार साँझ सामाजिक सञ्जालमा उक्त घटनाबारे धारणा राख्दै छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।
साथै उनले आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको टिप्पणी गरेका छन्। बल प्रयोग मात्रै समस्याको समाधान नभएको र समाधानमा अनुत्तरदायी हु्ने सरकारको शैलीको उनले आलोचना गरेका छन्। उनले भनेका छन्, ‘बालकुमारी घटनामा होनहार दुईजना नवयुवकको ज्यान गयो, बल प्रयोग समस्याको समाधान होइन, समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ। घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर, ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जलि र परिवारजनमा गहिरो समवेदना, अब यस्तो कहिल्यै नहोस्।’