संस्कृतिमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । राप्रपाले बिहीबार विज्ञप्ति जारी गर्दै विवादास्पद अभिव्यक्ति दिएको भन्दै संस्कृतिमन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो ।
मन्त्री किरातीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन ।’पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ।’