साइबर सुरक्षासम्बन्धी कानुन बनाउँदै छौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन बनाउन लागेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सरकार साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको जानकारी दिइन् ।
उनले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीतिअनुरूपको आवश्यक कानुनहरू, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षणलगायतका विभिन्न कानुनहरू बनाउन लागिएको बताइन् ।
उनले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशका बीचमा आवश्यक समन्वय हुनुपर्ने पनि बताइन् । यसका लागि दुई देशबीच साझेदारी पनि आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री शर्माले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि एक करोड ३१ लाख ५० हजार नागरिकको विवरण डिजिटाइजेसन गरिसकेको जानकारी गराइन् । त्यस्तै, ९ हजार ६ सय डिजिटल हस्ताक्षर वितरण गरिएको पनि उनले बताइन् ।