निराशाजनक प्रदर्शन हुँदा पहिलो चरणबाटै बाहिरियो नेपाल
समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १० विकेटको लज्जास्पद पराजित भएपछि यू–१९ एसिया कपमा नेपाली युवा टिम जितविहीन बनेको छ ।
मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्यो ।
भारतको जितमा अर्सिन कुलकर्णीले अविजित ४३ रन बनाए । यस्तै, अर्का ओपनर आदर्श सिंह १३ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाएको थियो । यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो ।
भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।