सरकार र उखु किसानबीच चार बुँदे सम्झौता
काठमाडौँ। बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलनरत उखु किसान र सरकार चार बुँदे सम्झौता भएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो ।मन्त्रालयमा भएको छलफलमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।
सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ ।