राष्ट्र बैंकको खुद नाफा ८७ अर्ब, ब्याज बाटै ६२ अर्ब आम्दानी

नेपाल राष्ट्र बैंकल आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रहेको थियो ।
यस अवधिमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड ८२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड ८७ लाख ब्याज आम्दानी गरेको छ । एक वर्षमा राष्ट्र बैंकको खुद ब्याज आम्दानी ६२ अर्ब ५७ करोड २५ लाख रहेको छ । राष्ट्र बैंकको सञ्चालन आम्दानी ६६ अर्ब ९२ करोड ७१ लाख रहेको छ।
नेपाल राष्ट्र बैंकले आज अर्थ मन्त्रीलाई आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष आज आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।