गणतन्त्र असफल भइसक्यो, व्यवस्था फेर्न तेस्रो जनआन्दोलन
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको बताएका छन् । पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको व्यवस्था सुधारिने कुनै संकेत नदेखिएकाले अब व्यवस्था र अवस्था परिवर्तनका लागि तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताए ।
उनले सबै समस्याको जड राजसंस्था, हिन्दु राष्ट्र र एकात्मक शासनलाई देखाएर बनाइएको गलत भाष्यले मुलुकलाई संकटको भुमरीमा फसाएको बताए । विदेशी दबाब र प्रभावमा जनताको अभिमतबिना मुलुकको राष्ट्रिय धरोहरहरूलाई भत्काउने काम भएकोमा आपत्ति प्रकट गर्दै थापाले षड्यन्त्रपूर्वक जबरजस्तीस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे ।
थापाले अहिले मुलुकमा चलिरहेको भ्रष्टाचारको चक्रलाई तोड्न आन्दोलनको विकल्प नभएको समेत बताए । राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकाले सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा बसेर मुलुकलाई विकल्प दिनुपर्ने उनको धारणा थियो ।