यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लूए)का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।
“यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,” यूएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले ट्विटरमा लेखेका छन् ।
“यूएनआरडब्ल्यूए शोकमा छ । प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ,” उनले लेखेका छन् ।
गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ ।
उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताएका छन् । “यी सहकर्मीहरू आशा र मानवताका ज्वालाहरू थिए,” उनले एक्समा भने ।
करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा एक हजार ४०० भन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो ।