भूकम्प प्रभावित जिल्लालाई राहत तथा उद्धारका लागि ५/५ करोड तत्काल पठाइने


उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताएका छन्।

शनिबार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले सरकारले घाइतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए। घाइते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको उनको भनाइ छ। उनले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको उनले जानकारी दिए।

भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि उनले बताए। उनले भने, ‘घाइतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेका छौं। अहिले सम्माननीय प्रधानमन्त्रीज्यु त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ। उहाँकै निर्देशनमा घाइतेको उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ। कतिपयलाई स्थानीय अस्पतालमै र कतिपय सुर्खेत, कतिपय नेपालगञ्जमा उपचारको व्यवस्था गरेका छौं। यहाँ पनि हामीले ट्रमा सेन्टर लगायत कतिपय ठाउँमा आवश्यक परे उपचारका लागि तयार गरेका छौं। राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको छ। राहतका काम एकद्वारा प्रणालीबाट पठाउने निर्णय गरेका छौं।’

उनले  आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *