सेनामा राजनीतिक चलखेल स्वीकार्य छैन : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल हुन खोजेको भन्दै आपत्ती जनाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

उनले पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने समेत बताएका छन् । 

सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेकोप्रति कोइरालाको प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने शंका व्यक्त गरेका छन् । 

माओवादी सेनाबाट समायोजन भएर नेपाली सेनामा गएकामध्ये अधिकारी सबैभन्दा उच्च पदमा पुगेका व्यक्ति हुन् ।

कोइरालाले भनेका छन्– नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *