सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।
सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मूलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए। ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ’ उनले भने। २०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। ‘नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ?’ उनले प्रश्न गरे।