मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि प्रभाव परेपनि आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

कार्यक्रममा उनले अन्य मुलुकको धारणाका आधारमा नभई राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गरिनुपर्ने बताए । कार्यक्रममा उनले मुलुकको आवश्यकता र क्षमताका आधारमा परराष्ट्र नीति निर्धारित हुनुपर्ने बतए । नेपाललाई सानो मुलुकको रुपमा परिभाषित गरिएकोप्रति असहमति जनाउँदै उनले छिमेकीको तुलनामा सानो भएपनि भूगोल र जनसङ्ख्याका आधारमा नेपाललाई सानो मुलुक भन्न नमिल्ने धारणा राखे । आर्थिक रुपमा सबल बन्न नसकेका कारण नेपाललाई सानो मुलुकको विशेषण दिइएको भन्दै उनले मुलुकको नेतृत्व, आर्थिक एवम् कूटनीतिक क्षमता बढाउनुपर्ने आवश्यकता रहेको बताए ।उनले नीतिगत निर्णय परिपक्वका साथ नगर्दा आर्थिक क्षेत्रमा समस्या आएपनि सकारात्मक सम्भावनाहरु रहेको जिकिर गरे । मन्त्री महतले मुलुकमा सम्भावना नै नरहेको भन्दै नकारात्मक सोच राख्दा आत्मबल कमजोर हुने जिकिर गरे । आर्थिक विकास र रोजगारी सिर्जनाको प्रचुर सम्भावना भएकाले यसलाई सदुपयोग गर्ने भन्नेमा सबैले जोड दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *