सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको बताएका छन् । कसैको धर्म, संस्कृतिप्रति कसैले दक्खल पुर्याउन उचित नहुनेमा उनले जोड दिएका छन् ।
शनिबार सार्वजनिक अपिल जारी गर्दै उनले केही दिनयता सुनसरीको धरानमा भएको धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् ।
“…नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै, कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दक्खल पुर्याउन पनि उचित हुँदैन,” धरानको घटनाका सम्बन्धमा पार्टीको अपिलमा उनले भनेका छन् ।
त्यस किसिमका गतिविधिले राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य–अदृश्य शक्तिलाई सहयोग पुग्ने उनको भनाइ छ । “…यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,” उनले उल्लेख गरेका छन् ।